एजेन्सी। संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्विपक्षीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखेमा इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमबार राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्ताे चेतावनी दिनुभएकाे हाे । प्रवक्ता बाघेईले वर्तमान समझदारी ‘संकटको चरण’ मा प्रवेश गरेको उल्लेख गर्दै इरानले कहिल्यै पनि सम्झौताको उल्लंघन नगरेको स्पष्ट पार्नुभयो ।
प्रवक्ता बाघेईले पछिल्ला हप्ताहरूमा अमेरिकाले आफ्ना दायित्वहरूको निरन्तर उल्लंघन गरेको र समझदारीका विभिन्न प्रावधान एवं बुँदाहरूलाई क्षत–विक्षत पारेको आरोप लगाउनुभएकाे छ। इरानले समझदारीका शर्तहरू कार्यान्वयन गर्ने सन्दर्भमा ‘प्रतिवद्धताका लागि प्रतिवद्धता’ को सिद्धान्त अवलम्बन गरेको उहाँले बताउनुभयो ।
पछिल्लो घटनाक्रमका बाबजुद कूटनीतिको सम्भावनाकाे बारेमा सोधिएको प्रश्नमा प्रवक्ता बाघेईले कूटनीति एक महत्वपूर्ण साधन भएको र यो प्रक्रिया कहिल्यै नरोकिने टिप्पणी गर्नुभएकाे छ। उहाँले आवश्यक परेको खण्डमा राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि इरानले सबै उपलब्ध संयन्त्र र उपायहरूको प्रयोग गर्ने समेत उल्लेख गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्