काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको स्तरोन्नतिले गति लिएको छ ।
सप्तरीको माहुली क्षेत्रमा धमाधम कालोपत्रे गर्ने काम भइरहेको हाे । चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ ले निर्माण गरिरहेको यो सडकको अहिलेसम्म कूल भौतिक प्रगति ७२ देखि ७५ प्रतिशत पुगेको छ । २०७७ साल कात्तिक १३ गतेदेखि निर्माण शुरु गरिएको आयोजनाको काम लक्ष्यअनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको हाे।
सडक विभाग, आयोजना निर्देशनालय अन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र पारिएको छ। कूल ८६ दशालव ७३ किलोमिटर लम्बाइ रहेको सडकलाई कञ्चनपुर–कमला सडक योजना अन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको हाे। जसमध्ये पूर्वी खण्ड अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुशाहासम्मको ३९ दशालव ४२ किलोमिटर सडक ७ अर्ब ४७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।
त्यसैगरी, सप्तरीको कुशाहादेखि सिराहाको कमला पुलसम्म पर्ने ४७ दशमलव २१ किलोमिटर लामो पश्चिमी खण्डको कूल लागत ८ अर्ब ८० करोड ७० लाख १८ हजार रुपैयाँ रहेको हाे । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको हुने गरी निर्माण भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्