काठमाडाैं । फिफा विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनल खेलमा शुक्रबार राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ ।
अमेरिकाकाे लस एन्जलसमा शुक्रबार राति पाैने १ बजेदेखि स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुने भएकाे हाे । अन्तिम १६ का खेलमा फरक शैलीमा जित निकालेका यी दुई युरोपेली टोली सेमिफाइनल प्रवेशका लागि भिड्न लागेका हुन् । स्पेनले पोर्चुगलविरुद्ध संघर्षपूर्ण खेलमा अतिरिक्त समयको पहिलो मिनेटमा मिकेल मेरिनोको निर्णायक गोलमा १–० को जित निकालेको थियो ।
अर्कोतर्फ बेल्जियमले सहआयोजक अमेरिकालाई ४–१ ले सहजै पराजित गर्दै प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरेको थियो । युरो २०२४ को उपाधि जित्ने क्रममा स्पेनले क्रोएसिया, इटाली, जर्मनी, फ्रान्स र इङ्ग्ल्यान्ड जस्ता बलिया टोलीलाई पराजित गरेको थियो । त्यसैले यो विश्वकपमा पनि टोलीबाट उच्च अपेक्षा गरिएको छ ।
स्पेनको जारी विश्वकपमा प्रदर्शन बलियो भए पनि अपेक्षा अनुसार आक्रामक देखिएको छैन । हालसम्म स्पेनले बेल्जियमविरुद्ध लगातार ६ खेल जितेको हाे । यो क्रम ७ खेलसम्म पुर्याउने लक्ष्य राखेको छ । बेल्जियमले अन्तिम १६ मा अमेरिकालाई ४–१ गाेलले पराजित गर्दै प्रतियोगितामा नयाँ लय समातेको हाे।
समूह चरणमा खासै प्रभावशाली नदेखिएको टोलीले नकआउट चरणका दुई खेलमा ७ गोल गरिसकेको छ । बेल्जियम आफ्नो यहि लयलाई कायम राख्ने लक्ष्यमा रहने भएकाे छ । यसअघि भएको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २–० गाेलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हाे ।









प्रतिक्रिया दिनुहोस्