Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तबीच शिष्टाचार भेटवार्ता


91
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा भएको उक्त भेटघाटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा भएको बताउँदै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको स्मरण गराउनुभयो।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको सभामुख अर्यालको भनाइ थियो । उहाँले नागरिक उड्डयन रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम विरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उहाँलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताउनुभयो ।

भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख विरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।

उहाँले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।