काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराउनु भएको हो ।
सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहिन नागरिकहरुलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहिन नागरिकहरुले रोजगारीको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्नासहितको विरोध प्रर्दशन गरेको दुई हप्ता बढी वितिसक्दा पनि सरकारले त्यतातर्फ ध्यान दिएको छैन ।
अध्यक्ष राईले उनीहरुले गर्नसक्ने काम दिएर उनीहरुको रोजगारी पाउने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो,‘यो दृष्टिबिहीन व्यक्तिहरुले आन्दोलन गरिरहनु भएको छ । उहाँहरुको माग के हो भन्दाखेरी हामीलाई भत्ता दिनुपर्छ, हामी बसीबसी खान्छौँ भनेको होइन रहेछ । मलाई एउटा ज्ञापन पत्र पनि बुझाउनु भएको थियो । उहाँहरुको माग चाहीँ हामीले सकेको काम जस्तो फोन रिसिभ गर्ने कामदेखि बसेर गर्ने कामहरु हामी गर्नसक्छौँ । सरकारले हामीलाई त्यसतर्फ रोजगारी दिउन भन्ने खालको उहाँहरुको माग छ । यदि त्यो दिन सकेन भने उहाँहरु सडकपेटीमा गीत गाएर गुजारा गर्दै हुनुहुँदो रहेछ । त्यहाँ गीत गाउनु हुँदैन भन्ने सरकारले महशुस गरेको रहेछ । हुनत अहिलेको सरकारलाई सबै कुरा चिटिक्क परेको होस भन्ने छ । सबैको जीवन चिटिक्क परेको हुँदैन । हामीले आफू जस्तो अरुलाई सम्झनु हुँदैन । कि त उहाँहरुलाई त्यसरी नै सडकमा गीत गाएर गुजारा चलाउने इन्भारोमेन्ट बनाई दिनु प¥यो, त्यो सरकारले पनि चाहँदैन होला, म पनि चाहन्न । उहाँलाई दिनुपर्ने रोजगारीको प्रबन्ध सरकारले मिलाओस् । एकैचोटी दिन नसकिएला तर सूरु गरियोस । यो महिनाबाट १०, १५ जनालाई दिन थाले पनि हुन्छ ।’
त्यस अवसरमा अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न पनि सभामुख डोलप्रसाद अर्याललाई दवाव दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्