Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियो : सांसद केसी


26
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गर्दै सरकारप्रति जनतामा देखिएको आशा र विश्वास क्रमशः घट्दै गएको बताउनुभएको छ।

सोमबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले सरकारले घोषणा गरेका सय बुँदे कार्यक्रममध्ये करिब ३७–३८ बुँदामात्र कार्यान्वयन भएको दाबी गर्नुभयो। बाँकी अधिकांश कार्यक्रम कार्यान्वयनको अवस्था शून्य रहेको उहाँको भनाइ थियो।

उहाँले लोकतन्त्रमा परिणामसँगै प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै वर्तमान सरकारले लोकतान्त्रिक विधि, प्रक्रिया र संस्थागत अभ्यासलाई निरन्तर बेवास्ता गरेको आरोप लगाउनुभयो।

नेता केसीले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहितामाथि पनि प्रश्न उठाउँदै संसदमा प्रधानमन्त्रीले व्यक्त गर्ने धारणा नै आधिकारिक हुने स्मरण गराउनुभयो। जेठ १७ गतेदेखि उठाइएका प्रश्नहरूको पाँच सातासम्म पनि जवाफ नआएको भन्दै उहाँले यसलाई दुःखद् अवस्था भएको बताउनुभयो।

प्रधानमन्त्री संसदमा उपस्थित भई उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने वा आवश्यक परे आफ्ना भनाइ सच्याउनुपर्ने दायित्व रहेको उल्लेख गर्दै उहाँले त्यसो नगरी संसदलाई बेवास्ता गर्नु संसदीय अभ्यास र संसद्को सम्मानविपरीत भएको टिप्पणी गर्नुभयो।