Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


नर्वे ब्राजिललाई पराजित गर्दै विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

५ पटकको विश्व विजेता ब्राजिलकाे भने लज्जास्पद हार

0
Shares

काठमाडाैं । नर्वेले ५ पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

साेमबार बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरेका थिए । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका हुन्। दोस्रो गोल ९०औं मिनेटमा गरेका थिए । ब्राजिलले दुई पटक पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरेका थिए। २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ग्ल्यान्डबीचको बिजेतासँग खेल्ने भएकाे छ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

योसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक क्वार्टरफाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ । साेही खेलमा दुई गोल गरेका नर्वेका हालाण्ड चार खेलमा सात गोलसहित गोल्डेन बुटको दौडमा फ्रान्सका किलिएन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेसीकोे बराबरीमा पुगेका हुन् ।