Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुग्याे

ढलानको करिब ३० वर्षसम्म टिक्ने आयोजनाकाे दावी

0
Shares

काठमाडाैं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

साेही खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु करिब ३० वर्ष हुने आयोजनाले दावी गरेको हाे । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालले दाउन्नेको भौगोलिक अवस्था र गाडीको चापलाई मध्यनजर गरी कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो ।

३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उहाँको दावी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने निर्देशक ढकालको विश्वास रहेकाे हाे। उहाँले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिनुभयो ।

आगामी २० देखि ३० वर्षको गाडीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक १२ देखि २० हजार गाडी आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ । अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेकाे हाे।

कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको छ । याेससँगै दाउन्ने खण्डमा बर्सेनि हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास रहेकाे हाे ।