हरिलाल बस्याल-संवाददाता
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का कृषक ईश्वरी भण्डारी विगत ६ वर्षदेखि पुष्प तथा नर्सरी व्यवसायमा व्यस्त हुनुभएकाे छ।
कोरोना महामारीकाे समयमा कृषि उत्पादनको महत्व बुझेपछि उहाँले शुरुमा भाडाको जग्गामा तरकारी खेती थाल्नुभएकाे हाे। तर, लकडाउन खुलेसँगै भारतीय तरकारीको आयात बढेर बजारभाउ पाउन छाडेपछि त्यसलाई छाेडेर उहाँले थालेको पुष्प व्यवसाय अहिले लाखौं रूपैयाँ आम्दानीको स्रोत बनेको छ ।
शुरुमा तिहारलाई लक्षित गरी एक कठ्ठा जग्गामा १ हजार सयपत्रीका बिरुवा रोपेर शुरु भएको पुष्प व्यवसायी भण्डारीको यात्रा अहिले व्यवसायिक बनेको हाे । पहिलो उत्पादनमै प्रतिकेजी ४ सय रुपैयाँमा फूल बिक्री भएपछि उहाँमा हौसला थपियो । अहिले उहाँले ४० कठ्ठा जग्गामा पुष्प खेती विस्तार गर्नुभएको हाे।
जहाँबाट वार्षिक ५५ देखि ६० लाख रुपैयाँको कारोबार हुने गरेको छ । व्यवसायी भण्डारीको यस व्यवसायिक फर्मले ५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको हाे। उहाँको फूल रोप्ने शैली अलि फरक र वैज्ञानिक छ । उहाँले पात्रो हेरेर विवाह र व्रतबन्धकाे लगन धेरै भएका महिनामा बढी र लगन कम भएका महिनामा कम फूल उत्पादन हुनेगरी खेती गर्दै आउनुभएकाे हाे ।
अनुभव बढ्दै गएपछि अहिले उहाँ परामर्शदाता समेत बन्नुभएको हाे । देशका २० भन्दा बढी जिल्लाका किसान र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले उहाँलाई फोन गरेर कृषिककाे बारेमा सल्लाह लिने गरेका छन् । व्यवसायी भण्डारीले दैनिक जसो फोनमार्फत मौसमी तथा बेमौसमी तरकारी, फूल खेती, शीतलचिनी, टमाटर, मेवा, टिमुर, अलैंची खेती र नर्सरी व्यवस्थापनकाे बारेमा निःशुल्क जानकारी दिने गर्नुभएको छ ।
यो वर्ष तिहार ढिलो परेका कारण व्यवसायी भण्डारीले किसानहरूलाई ’टेनिस बल’ जातको सयपत्री फूल साउन १८ देखि २२ गतेसम्म बीउ राख्न र भदौ १२ देखि १५ गतेभित्र सार्न सल्लाह दिनुभयाे । यो फूल ७०–७५ दिनमा तयार हुने उहाँको भनाइ छ । नेपाली किसानको मेहनत र बजारको माग राम्रो भए पनि नीतिगत सुधारको खाँचो अझै देखिन्छ । सरकारले विदेशी आयातलाई कडाइका साथ रोकेर स्वदेशी किसानलाई प्रोत्साहन गर्नुपर्ने उहाँकाे जाेड छ।
नेपाली उत्पादनले उचित मूल्य पाउने र स्वदेशमै हजारौं युवा स्वरोजगार बन्ने व्यवसायी भण्डारीको विश्वास रहेकाे हाे ।
भिडियाे रिपाेर्ट:









प्रतिक्रिया दिनुहोस्