Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नेपाललाई विश्वको ‘वेलनेस हब’ बनाउँछौँ : मन्त्री पौडेल


247
Shares

काठमाडाैं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई आरोग्य (वेलनेस) पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न सरकार ‘आरोग्य पर्यटन दशक’ मनाउने तयारीमा रहेको बताउनुभएको छ । 

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुलाई आरोग्य पर्यटन वर्षमा मात्र सिमित नभई आरोग्य पर्यटन दशमा केन्द्रित भएर छलफल गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले अगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवद्र्धनको आधार निर्माण गर्ने वर्षका रूपमा अघि बढाइने समेत बताउनु भयो । उहाँले नेपालले आरोग्य पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्दै अप्रिल १५ लाई संयुक्त राष्ट्रसंघले ‘विश्व आरोग्य दिवस’का रूपमा मान्यता दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हामी आरोग्य पर्यटन वर्षमा मात्रै सिमित हुनुहुँदैन । हामी आरोग्य पर्यटन दशक पनि मनाउँदैछौँ । यो वर्ष हाम्रो फर्टिफिकेसनको वर्ष हो । हामीले आरोग्यको क्षेत्रमा सबैभन्दा ठुलो उपलब्धी के गर्यौँ भन्नुहुन्छ भने १५ अप्रिललाई संयुक्त राष्ट्र संघले समेत आरोग्उ दिवसको रुपमा मान्यता दियो । यो हामीले राखेको प्रश्ताव थियो । ध्यान र योग दक्षिण एशियाले विश्वलाई दिएका उपहारहरु हुन् । ती सबै उपहारहरुको भावभूमि र देवभूमि नेपाल हो । मैले धेरै ठाउँमा भन्ने गरेको छु नेपाली भूमिलाई नटेकीकन देवता पनि देवता हुन सक्दैनन् । अहिलेसम्मको यो वेद पुराण उपनिषद चाहे जैनमा जानुस् चाहे अरु कुनै धर्मवलम्बीहरुमा जानुस् यो यो क्षेत्रमा प्रादुर्भाव भएका हुँदै भएका धर्महरुको हिसाबबाट हेर्नुहुन्छ भने नेपाल त्यस्तो भूमि हो ।’
मन्त्री पौडेलले ध्यान र योग दक्षिण एशियाले विश्वलाई दिएको महत्वपूर्ण उपहार भएको उल्लेख गर्दै त्यसको आध्यात्मिक र सांस्कृतिक आधारभूमि नेपाल रहेको दाबी गर्नुभयो ।