Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


देशैभर ६२ दशमलव ६८ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा: सिंचाइ विभाग

आगामी वर्ष ६ हजार ७ सय ५० हेक्टर क्षेत्रमा नयाँ सिंचाइ सुविधा विस्तार गर्ने लक्ष्य

26
Shares

काठमाडाैं । सिंचाइ तथा जलस्रोत विभागले हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२ दशमलव ६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको जनाएकाे छ ।

विभागको तथ्यांक अनुसार नेपालमा कूल ३५ लाख ५७ हजार ७ सय ६४ हेक्टर खेतीयोग्य जमिन रहेको हाे। जसमध्ये २५ लाख ३६ हजार ३ सय १९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३ सय ८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ । यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन् ।

कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन् । यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको हाे । विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले गत आव २०८१/८२ मा विभागले १६ हजार ३ सय ८ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको बताउनुभयाे । त्यस्तै,चालु आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ७ सय ५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

तर चालु आवको चैत मसान्तसम्म केवल चार हजार ४८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको हाे । चालु आर्थिक वर्षमा निर्धारित लक्ष्यमा कमी आउनुको कारण आयोजना कटौती गरिएकाे छ ।