Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


हामीबाट केही कमजोरीहरु भए आत्मसमीक्षा गरौँला : अध्यक्ष ओली


312
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनलाई प्रतिगामी षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी आन्दोलन नेपालको वामपन्थी र लोकतान्त्रि आन्दोलनलाई लक्षित गर्दै रचिएको गम्भीर षड्यन्त्र भएको बताउनुभयो ।

वैधानिक सरकारलाई अवैधानिक ढंगले भङ्ग गर्ने आन्दोलन कुनैपनि हालतमा लोकतान्त्रिक आन्दोलन हुन नसक्ने टिप्पणी गर्नुभयो । जनता निराश हुने कुनैपनि कार्य आफूले नगरेको उहाँको भनाइ छ । उहाँले केही कमजोरीबारे आत्मसमिक्षा गरेपनि मुलुकलाई आफूले नै बर्बाद पारेको भन्ने भाष्य गलत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतान्त्रिक आन्दोलनलाई, देशभक्तिपूर्ण आन्दोलनलाई, लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ मा प्रतिगामी षडयन्त्र भयो । त्यस षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो । यो लोकतन्त्र हुनै सक्दैन । लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन । सरकार बनाउने, अपदस्त गर्ने, सरकार फेर्ने सबै गर्ने संसद भङ्ग गर्यो । असंवैधानिक ढंगले भङ्ग ग¥यो । वैधानिक सरकार भङ्ग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन । तर नेपालमा त्यो भयो । हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए । जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी कुनै नराम्रो काम गरेकै छैनौँ । हाम्रा कमीहरू रहे । कतिपय कमीहरू रहे कमजोरीहरू रहे । हामी आत्मसमीक्षा गरौँला । तर हामीले देश बर्बाद पार्यौँ भन्ने भाष्य गलत हो । बर्बाद पारेनौँ अगाडि बढायौँ । प्यारामिटरहरूमा हेरौँ ।’ उहाँले मुलुकको हित र विकासमा आफ्नो योगदान सूचकमा हेर्नुपर्नेमा जोड दिनुभयो ।