Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


जनार्दनको प्रश्न– ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’


156
Shares

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेको बताउनुभएको छ ।

बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उहाँले माक्र्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताउनुभएको हो । माक्र्सवादी दर्शनको सार व्याख्या गर्नु मात्र नभई परिवर्तन गर्नु रहेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार किताबी दर्शन र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्याधिक झुकाव तथा जडसूत्रीय ढंगले माक्र्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको हो । शर्माले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू स्वयं व्यवहारमा आदर्शवादी बनेको आरोप लगाउनु भयो । भनाईमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुगेको उहाँको दाबी छ । उहाँले आफूमा समेत यस्तो कमजोरी देखिएको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माक्र्सले भन्नुभएको दार्शनिकहरुले विभिन्न तरिकाले व्याख्या मात्र गर्नुभएको छ तर मुख्य कुरा बदल्ने हो भन्ने कुरा नै माक्र्सवादी दर्शनको सारवस्तु हो । यो सारवस्तुलाई आत्मसात गर्न नसक्दा कितावी दर्शन र जीवन व्यवहारको दर्शनमा अन्तरविरोध हुँदा नेपाली कम्युनिस्ट आन्दोलन आज विघटनको अन्तिम संघारमा पुगेको छ । एकातिर संसदवाद र संसदवादको आदर्शवादको बाटो अवलम्बन गर्ने एउटा मुख्य जिम्मेवार शक्ति अथवा पात्रहरु छन् भने अर्कोतिर जडसुत्रीय ढंगले फेरि माक्र्सवादलाई कुण्ठित गर्नेहरु छन् । यी दुवै समस्याका कारणले नेपाली कम्युनिस्ट आन्दोलन दर्शनलाई, अझ ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जीवन व्यवहारमा लागू गर्ने, जगत समाज सबैलाई परिवर्तन गर्नका लागि त्यसको त्यो मान्यताका आधारमा अगाडि बढ्नुको सट्टामा हामी कहाँ सम्म आइपुग्यो भने भौतिकवादी नेताहरुले भौतिकवाद र आदर्शवादको फ्युजनको कुराहरु जब अगाडि आए, त्यतिबेलादेखि अझ देखिने गरी किताबी दर्शन र जीवन व्यवहारको दर्शनको अन्तर महसुस हामीले ग¥यौँ । त्यस्तै स्कुलिङ, त्यस्तै प्रशिक्षण, त्यस्तै व्यवहारहरुबाट भनाइमा भौतिकवादी, जीवनमा आदर्शवादी मान्यता राख्ने कम्युनिस्ट नेताहरुको कारणले गर्दाखेरि यो स्थिति आयो, त्यो ममा पनि, अरुमा पनि र मुख्य नेताहरुमा देखिएका यी समस्याहरुको कारणले आज कम्युनिस्ट आन्दोलन विघटनको संघारमा छ ।’

उहाँले नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ कि छैन भन्ने विषयमा पनि गम्भीर बहस आवश्यक रहेको बताउनु भयो । कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिस्ट पार्टी भन्ने हो ? उहाँको प्रश्न छ । उहाँले नेपालका कम्युनिस्ट पार्टीहरु जनताको जीवनसँग जोडिन नसकेको आरोप लगाउनु भयो । जनतासँग जोडिएको दाबी गर्ने शक्तिहरू पनि आदर्शवादी ढंगले अघि बढेको उहाँको टिप्पणी छ । उहाँले उत्पीडित वर्ग, जाति, क्षेत्र, भाषा र लिंग समुदायको नेतृत्व गर्न तथा उनीहरूको जीवनमा परिवर्तन ल्याउन कम्युनिस्ट आन्दोलन असफल भएको दाबी गर्नुभयो । सुकुम्बासीहरू विस्थापित हुनुपर्ने, तल्लो वर्ग राज्यका साधन–स्रोतबाट वञ्चित रहनुपर्ने तथा भाषिक, सांस्कृतिक, वर्गीय र जातीय विभेद कायम रहनु कम्युनिस्ट आन्दोलनको कमजोरीको प्रमाण भएको उहाँको भनाई छ । वर्तमान राजनीतिक अवस्था आउनुमा कम्युनिस्ट दलहरूकै कमजोरी मुख्य कारण भएको उहाँको भनाई छ । जनताका समस्यामा दृढतापूर्वक उभिन नसक्नु र भ्रष्टाचारजस्ता कार्यमा संलग्न भएका कारण कम्युनिष्टहरुको जनसमर्थन घटेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कसलाई कम्युनिष्ट पार्टी भनेर भन्ने हो आज ? यो कुन सिद्धान्तका आधारमा कम्युनिष्ट पार्टी मान्ने हो ? कम्युनिष्ट पार्टीले जनताको जीवनसँग जनतासँग जोडिएकै छैन, भन्ने कुरा देखिसकियो । जोडिनै चाहन्न भन्नेकुरा पनि देखिएको छ । जोडिएकाहरू भन्नेहरू आदर्शवादी ढंगले अगाडि बढेको कुरा पनि घाम जत्तिकै छर्लङ्ग छ । त्यसकारण साच्चिकै कम्युनिष्ट पार्टी छ त आज नेपालमा ? यो बहस आवश्यक छ । यो दार्शनिक रूपले, यो राजनीतिक रूपले, यो वर्ग संघर्षका दृष्टिकोणले, यो समाज परिवर्तनका दृष्टिकोणले यो छलफल बहस आजको आवश्यकता हो ।’ उहाँले क्रान्तिकारी माक्र्सवादी दिशाबाट मात्र समाज रूपान्तरण सम्भव हुने बताउनु भयो । आफूले यही कुरा तत्कालिन माओवादी पार्टीमा उठाउँदा आफू निकालिनु परेको उहाँको गुनासो छ ।