Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


चीनमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीले भने- हामीलाई तपाईंहरुको साथकाे आवश्यक छ


260
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धिको यात्रामा प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सिप र क्षमता अपरिहार्य रहेको भन्दै सरकारलाई सहयोग गर्न अपिल गर्नुभएकाे छ ।

आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोडिन डायस्पोरालाई आग्रह गरेका हुन्।

‘तपाईंहरूले चुनावमा भोट दिएर हामीलाई कानुन र नीति बनाउने ठाउँमा पुर्‍याइदिनुभयो, तर योगदान गर्ने कुरामा तपाईंहरूको जिम्मेवारी अझै बाँकी छ, मन्त्री खनालले भन्नुभयाे, ‘म नेपाल सरकारको प्रतिनिधिको रूपमा स्पष्ट भनिरहेको छु- हामीलाई तपाईंहरूको साथ चाहिएको छ।’

संसारभर नेपालीहरूको सङ्ख्या तीव्र रूपमा बढेको र युवाहरू बिदेसिने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य चुनौती रहेको बताउनुभयाे । नेपालमा अहिले जनसाङ्ख्यिक लाभांशकाे सुनौलो समयमा रहे पनि आगामी २० वर्षपछि बुढ्यौली जनसङ्ख्यातर्फ जाने भएकाले विकासका लागि समय निकै छोटो रहेको मन्त्री खनालले स्मरण गराउनुभएकाे छ ।

सरकारले डायस्पोराको लगानी र ज्ञान भित्र्याउन आवश्यक पर्ने सम्पूर्ण कानुनी र व्यावहारिक सहजीकरण गर्न तयार रहेको पनि उहाँ प्रतिबद्धता व्यक्त गर्नुभयाे ।