Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिको विजयी

दक्षिण अफ्रिका भने २-० गाेल अन्तरले पराजित

39
Shares

काठमाडाैं । विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी शुरुवात गरेको छ ।

ऐतिहासिक एस्टेका रंगशालामा बिहीबार राति भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । समूह ‘ए’ मा रहेको मेक्सिकोको जितमा जुलियन क्विनोनेस र अनुभवी स्ट्राइकर राउल जिमेनेजले १–१ गोल गरेका थिए । ८० हजार ८ सय २४ दर्शकले भरिएको रङ्गशालामा दक्षिण अफ्रिकाले घरेलु टोलीको दबाब झेल्न सकेन र खेलको दुवै हाफमा आफ्ना महत्त्वपूर्ण खेलाडी गुमाउन पुग्यो ।

खेल शुरु हुनुअघि रङ्गशालामा गरिएको आतिशबाजीको धुवाँ हट्न नपाउँदै मेक्सिकोले खेलको नवौँ मिनेटमा अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका डिफेन्डर स्पेफेलो सिथोलेले आफ्नै हाफमा बल नियन्त्रणमा राख्न नसक्दा क्विनोनेसले उत्कृष्ट गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाएका थिए ।

उनले दक्षिण अफ्रिकाका गोलकिपर तथा कप्तान रोनवेन विलियम्सको खुट्टाको मुनिबाट बललाई जाली चुमाएका थिए । तीन वटा फरक विश्वकपका खेलहरू आयोजना गर्ने एक मात्र रङ्गशालाको कीर्तिमान बनाएको एस्टेकामा मेक्सिकोको गोलसँगै घरेलु समर्थकले भव्य उत्सव मनाएका थिए ।

खेलको अन्तिम समयमा मेक्सिकोका डिफेन्डर सेसर मोन्टेसले पनि खुलिसो मुदाउमाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाएका थिए । खेलमा कूल तीन वटा रातो कार्ड प्रयोग भएको थियो । यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ ।