Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


कुलमान भन्छन्– वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ


572
Shares

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गर्नुभएको हो । २०८४ सालमा स्थानीय तथा प्रदेश सभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने बताउनुभयो ।

विशेष गरी वागमती प्रदेशमा सरकार बनाउने गरी काम गरिरहेको उहाँको भनाई छ । वागमती प्रदेशका साथै अन्य प्रदेशहरूमा पनि सरकार बनाउने लक्ष्यका साथ काम गर्ने उहाँले बताउनुभयो । पार्टीले बागमती प्रदेशलाई राजनीतिक विस्तारको केन्द्र बनाएर संगठन सुदृढीकरण तथा विस्तारको अभियान तिब्र बनाइरहेको उहाँको भनाई छ ।

अध्यक्ष घिसिङले विगतमा राजनीतिक अनुभवको कमीका कारण आफूहरू षड्यन्त्रमा फसेको उल्लेख गर्दै अब कसैको षडयन्त्रको सिकार नहुने बताउनुभयो । पार्टीको अस्तित्व र पहिचान जोगाउन आफू अन्तिमसम्म लागिरहने उहाँको भनाई छ । अब जनताको विश्वास जितेर उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उहाँले बताउनुभयो ।

उहाँले गत निर्वाचनमा पार्टीले चुनाव हारेपनि देशभरि पार्टीमा प्रवेश गर्नेहरूको लहर रहेको दाबी गर्नुभयो । पार्टीको उद्देश्य, भिजन र नेतृत्वप्रतिको विश्वासका कारण मानिसहरू जोडिइरहेको उहाँको दाबी छ । आगामी निर्वाचनमा पार्टीलाई नम्बर एक बनाउने लक्ष्यसहित अघि बढेको उहाँले बताउनुभएकाे छ ।