Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


नेपाल–भारत सम्बन्धलाई विकास कुटनीतितर्फ लैजान चाहन्छौँः परराष्ट्रमन्त्री खनाल


169
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट विकास कुटनीतितर्फ लैजान चाहेको बताएका छन् ।

आईतवार नयाँदिल्लीस्थित नेपाली दुतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल–भारत सम्बन्धलाई पुराना भू–राजनीतिक दृष्टिकोणबाट नभई विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताए ।

उनले नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर परिणाममुखी कुटनीतिमा केन्द्रित रहेको उल्लेख गरे। उनले भारत भ्रमणको क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भारतसँग छलफल भएको जानकारी दिए।

मन्त्री खनालका अनुसार भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको उहाँले जानकारी दिए ।

नेपाल–भारतबीच व्यक्ति–व्यक्ति (पीटुपी) सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा आएकोले यसले दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाई छ । त्यस्तै, भारतीय सहयोगमा निर्माण गरिएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको तथा काठमाडौं विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारी भएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा लागू गरिएको भन्सार नियमबारे सोधिएको प्रश्नमा मन्त्री खनालले भारतबाट ल्याउन पाइने सामानको सीमासम्बन्धी व्यवस्था सीमावर्ती नागरिकलाई लक्षित नभई खुला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पारे।

मन्त्री खनालले भारतीय नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यको अनुभव लिन आग्रह गरेका छन् । भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमण गएका थिए ।