काठमाडाैं । तत्कालिन राजा वीरेन्द्र शाह लगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको मंगलबार २५ पूरा भएर २६ वर्षमा प्रवेश गरेकाे छ ।
२०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा आयोजित पारिवारीक रात्रीभोजमा भएको हत्याकाण्डको २५ औं स्मृति दिवस मंगलबार मनाउन लागिएको हो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो ।
त्यस्तै. गोली लागेर गम्भीर घाईते बनेका तत्कालीन युवराज दीपेन्द्र शाहलाई जेठ २० गते राजा घोषणा गरिए पनि २२ गते उनको पनि निधन भएको थियो । त्यसपछि तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरिएको थियो । तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो ।
छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेकाे छ । दरबार हत्याकाण्डको पुनः छानबिन हुनुपर्ने माग नागरिकस्तरमा उठ्ने गरेपनि सत्तामा पुगेका राजनीतिक तथा गैरराजनीतिक नेतृत्वले कहिल्यै यो विषयलाई प्राथमिकता दिएको देखिएकाे छैन ।










प्रतिक्रिया दिनुहोस्