Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


पार्टीभित्र विधिको शासन र एकता आवश्यक छः प्रकाशमान सिंह


182
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभएको हो । नेता सिंहले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका इच्छा र आकाङ्क्षाहरू पूरा गर्न पार्टीले आफ्ना कमी–कमजोरीहरू सुधार गर्नुपर्ने बताउनु भयो ।

पार्टीको आन्तरिक विवाद र आसन्न १५ औँ महाधिवेशनका विषयमा चर्चा गर्दै नेता सिंहले हाल पार्टी दुई धारमा विभाजित देखिएको टिप्पणी गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसका लागि दुवै पक्षलाई विश्वासमा लिने गरी एउटा साझा र भरपर्दो संयन्त्र निर्माण गरेर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको सुझाव छ । उहाँले प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया मिचेर आफ्ना पक्षकालाई मात्र स्थान दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी समेत दिनुभयो ।

देशको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक प्रणालीमाथि आइलागेका चुनौतीहरूको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने उहाँको तर्क छ । नेता सिंहले सत्ता र शक्तिको आडमा पार्टीको विधान र पद्धति मिच्ने कार्य रोकिनुपर्ने भन्दै विधिको शासनका लागि लडेको पार्टीभित्रै विधिको उल्लंघन हुनु विडम्बनापूर्ण भएको बताउनु भयो ।
स्वर्गीय क्षेत्रीय सभापति यादवले पार्टी सङ्गठन र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै नेता सिंहले उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न पनि पार्टीलाई सही मार्गमा ल्याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेस बलियो भए मात्र लोकतन्त्र र राष्ट्रियता मजबुत हुने भएकाले व्यक्तिगत स्वार्थ त्यागेर पार्टी हितमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।