सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले यस वर्ष सन्धिखर्क नगरपालिकाले बालबालिकालाई लगाउनुपर्ने सबै खोप सुनिश्चित गरी घोषणा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
उनले जिल्लाका बाँकी पाँचवटै पालिकाले पनि यस अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए। राज्यले बालबालिकाको खोपका लागि ठूलो लगानी गरेकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन अभिभावकलाई आग्रह गरे।
सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी बजेटमार्फत उनीहरूलाई थप सम्मान र प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
नगर उपप्रमुख मिश्रा आचार्यले यो घोषणाले नगरपालिकालाई थप जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखे। सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली का अनुसार नगरपालिकाका ३४८ खोप केन्द्रमार्फत १५ महिनासम्मका ५४०, १६ देखि २३ महिनासम्मका ९६१ तथा २४ देखि ५९ महिनासम्मका १हजार२६५ बालबालिकालाई आवश्यक सम्पूर्ण खोप लगाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले आगामी वर्षहरूमा पनि एक जना बालबालिका समेत खोपको पहुँचबाट बाहिर नपर्ने गरी काम गर्नुपर्ने बताए l नगरपालिका भित्र १२वटा वडा रहेका छन्।










प्रतिक्रिया दिनुहोस्