एजेन्सी । इरानको सेनाले इस्लामिक गणतन्त्र इरानविरुद्ध अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
इरानको आधिकारिक समाचार संस्था इर्नाले इरानी सैनिक अधिकारी मोहम्मद अक्रामनियाले आइतबार सामाजिक संजालमार्फत यस्ताे चेतावनी दिनुभएकाे जनाएकाे हाे । उहाँले स्ट्रेट अफ हर्मुजमा नयाँ कानूनी र सुरक्षा प्रणाली स्थापना गरेकाे समेत बताउनुभएकाे छ ।अबदेखि कुनै पनि जहाजले यसबाट जान चाहेमा इरानसँग समन्वय गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।
उहाँले यो प्रणाली अहिले लागू भएको र यसले आर्थिक, सुरक्षा र राजनीतिक लाभ ल्याउने बताउनुभएकाे हाे । गत शनिबार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले एक्समा एक पोष्ट गर्दै नयाँ विधेयक प्रस्ताव गरिएको बताउनुभएकाे थियाे । अमेरिकी प्रस्तावको पक्ष लिँदा उनीहरूले गम्भीर परिणाम भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ भनेर बहराइन जस्ता साना राष्ट्र र सरकारलाई जानकारी गराउने उहाँकाे भनाइ छ ।
यसै महिनाको शुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको हाे। अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो । एएफपीले प्राप्त गरेको सूचना अनुसार संयुक्त राज्य अमेरिका र बहराइनले इरानलाई जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको संयुक्त राष्ट्रसंघमा पेश गर्न तयार पारिएको प्रस्तावको मस्यौदा तयार गरेका छन् ।
साेही प्रस्तावमा गत फेब्रुअरी २८ तारिखमा युद्ध शुरु भएदेखि एक प्रमुख तनावको केन्द्र बनेको ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको थियाे ।










प्रतिक्रिया दिनुहोस्