काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल काउन्सिल अफ वल्र्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित नरहेको बताउनुभयो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कुटनीतिक प्राथमिकता रहेको बताउनुभएकाे छ ।
मन्त्री खनालले वर्तमान विश्वले जलवायु संकट, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध र ऊर्जा सुरक्षाजस्ता बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो । परराष्ट्रमन्त्री खनालले औपचारिक कुटनीतिले कतिपय संवेदनशील विषयहरूमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्रयाक टू डिप्लोमेसी’ (दोस्रो तहको कूटनीति) मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन एनसीडब्लुएले पुलको काम गर्नुपर्नेमा जोड दिनुभएकाे छ।
सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कुटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले उल्लेख गर्नुभयो । साेही अवसरमा उहाँले एनसीडब्लुए जर्नलको नयाँ अङ्क विमोचन गर्दै यसमा समेटिएका गहन लेखहरूले नीति निर्माताहरूलाई विश्वव्यापी भू–राजनीतिक परिवर्तनहरू बुझ्न र उचित निर्णय लिन बौद्धिक आधार प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्