Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


बुधबारे बजारमा एउटै घर दुई जिल्लामा ! (भिडियाे रिपोर्ट)

स्थानीयवासीको आर्थिक र प्रशासनिक काममा चुनाैती

0
Shares

धनकुटा । धनकुटा र पाँचथरको सीमानामा रहेको ६ नम्बर बुधबारे बजार भूगोलले मात्र होइन, जनजीवनले पनि दुई भागमा विभाजन भोगिरहेको छ । बजारका २२ वटा घरको एउटा भाग धनकुटा जिल्लामा पर्छ भने अर्को भाग पाँचथर जिल्लामा पर्दछ । यसले स्थानीयवासीको आर्थिक र प्रशासनिक काममा निकै झमेला थपिदिएको हाे ।

६ नम्बर बुधबारे बजार धनकुटा जिल्ला र पाँचथर जिल्लाको सीमामा पर्ने एउटा सानो बजार हो । यस बजारका २२ घरका आधा–आधा भाग दुई जिल्लामा पर्छन् । बजार क्षेत्रका घरहरू यसरी दुई जिल्लामा विभाजित हुँदा स्थानीयले लामो समयदेखि आर्थिकदेखि प्रशासनिक कामसम्म विभिन्न झमेला भोग्दै आएका छन् । ६ नम्बर बुधबारेका छविलाल गुरुङको घर यसको जिउँदो उदाहरण हो । उहाँको घरको एक भाग धनकुटा र अर्को भाग पाँचथरमा पर्दछ ।

घरको धुरीले जिल्लाको सीमाना छुट्याएको छ भने एकातिरको बलेसी पाँचथर र अर्कोतर्फको बलेसी धनकुटातिर झर्छ । एउटै घर दुई जिल्लामा पर्दा उहाँले एउटै घरको तिरो पनि दुई जिल्लामा तिर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै , समस्या अन्य २२ घरका स्थानीयमा पनि रहेको छ । बुधबारे बजारको एक लाइन चौविसे गाउँपालिकामा पर्छ भने अर्को लाइन मिक्लाजुङ गाउँपालिकामा पर्छ । यसले गर्दा कर, तिरो, जग्गा बेचबिखन, नामसारी, नापी र मालपोत लगायतका काममा दुई जिल्ला धाउनुपर्ने अवस्था रहेको स्थानीय फिवराज थेगिमले बताउनुभयाे ।

२०२० सालमा दुई जिल्लामा समायोजन गरिएको ६ नम्बर बुधबारे बजार अहिले पनि व्यापारिक केन्द्रको रूपमा परिचित छ । राज्य पुनःसंरचनाका बेला पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ । सामान्य प्रशासनिक कामका लागि पनि दुई जिल्ला धाउनुपर्ने बाध्यतासँगै विकास निर्माणका काममा पनि दुई पालिकाबीच समन्वय अभाव देखिएको हाे । एक पालिकाले अर्को पालिकालाई देखाउँदै जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण अपेक्षित विकास हुन नसकेको स्थानीय ज्योति श्रेष्ठको भनाइ छ ।

सहज सेवाका लागि सिमाना मिलाएर यो क्षेत्रलाई एउटै जिल्लामा समायोजन गर्नुपर्ने स्थानीयको माग छ । उनीहरूका अनुसार कर तिर्न, प्रशासनिक सेवा लिन र विकास निर्माणलाई प्रभावकारी बनाउन एकीकृत व्यवस्था आवश्यक देखिएको हाे । यतिबेला देशैभरी स्थानीय तह र वडा समायोजनाको बहस चलिरहेको सन्दर्भमा बुधबारे बजारको समस्या पनि सम्बन्धित निकायले बुझ्नुपर्ने आवश्यकता देखिन्छ ।

यहाँको यथार्थले देखाउँछ, जब सीमा स्पष्ट हुँदैन, तब जनजीवन जटिल बन्छ ।

विस्तृतमा भिडियाे रिपोर्ट हेर्नुहाेस्ः