Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फ एपीएफ क्लबको विजयी शुरूवात

त्रिभुवन आर्मी क्लब ३–१ को सेटमा पराजित

221
Shares

काठमाडाैं । दशौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफ क्लबले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा बिहीबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेकाे हाे । एपीएफले पहिलो सेट २५–२३, तेस्रो र चौथो दुवै सेट २५–१९ ले जितेकाे छ । आर्मीले दोस्रो सेट २५–१७ ले जित्यो ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा बिहीबारदेखि शुरू भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीकाे सहभागी रहेकाे हाे । लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकाे हाे ।

त्यस्तै, उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् । एनभीए भलिबल लिगका उत्कृष्ट महिला र पुरुष टोलीले सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) ले आयोजना गर्ने काभा क्लब च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।