काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । संयोजक दाहालले पार्टीभित्र हुर्केका गलत प्रवृत्तिहरूलाई फोहोरमैलाको संज्ञा दिँदै त्यसलाई सफा गरेर अघि बढ्ने उद्घोष गर्नुभयो ।
उहाँले जनताको घृणाले नभई नुहाइधुवाइ गरेर आऊ भनी जनताले सवक सिकाएको रूपमा पछिल्ला निर्वाचन परिणामहरूलाई बुझ्नुपर्ने बताउनु भयो । आगामी असोजभित्र सम्पन्न हुने महाधिवेशनले तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई स्थापित गर्ने उहाँको योजना छ । पुराना पुस्ताले नयाँ भुमिका खोज्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने वैचारिक बहस पार्टीमा चलिरहेको उहाँले जानकारी दिनुभयो । दाहालकाअनुसार सच्चिने संकल्प गर्नेहरू मात्र पार्टीमा रहने र रडाको गर्नेहरू बाहिरिए पनि फरक नपर्ने कठोर नीति अब अवलम्वन गरिनेछ ।
उहाँले भन्नुभयो, ‘ हामीले विगतमा कहिँ न कहिँ केही न केही त्रुटि गरेकै छौँ। हामी अहिले त्यसको आत्मचिन्तन, आत्ममन्थनमा छौँ । तपाईँहरूलाई थाहा छ हामी अहिले पार्टीको त्यस्तै बैठकमा बडो खुलास्त ढङ्गले सबै कमरेडलाई आफूलाई लागेका विचारहरू राख्ने अवसरको रूपमा किनभने यो ऐतिहासिक मोडमा हामी छौँ। जनताले हामीलाई केही न केही सबक सिकाउन खोजेको छ। जनताले सिकाउन खोजेका ती शिक्षालाई हामीले ग्रहण गर्ने अवसरको रूपमा लिनुपर्दछ। त्यसकारण हामी त्यही प्रक्रियामा छौँ। म अहिले अरु लामो व्याख्या नगरिकन हामी कुन ओरिएन्टेसनतिर जाँदै छौँ त, पहिला आफ्नै पार्टीका कमीकमजोरी सच्याएर यसलाई पुनर्गठन गर्ने, नयाँ युवाहरूलाई प्राथमिकताका साथ आउने महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै भूमिका भएपनि अहिलेसम्म खेलेको रूप र भूमिकालाई नयाँ रूप र भूमिकामा प्रश्तुत गर्ने गरी छलफल गर्दै छौँ र हामी महाधिवेशन ६ महिनाभित्र हामीले भनेका छौँ ।
सकेसम्म आउने असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढङ्गले यो पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया शुरु भएको छ। पहिलो। दोस्रो हामीले यो बदलिएको देशको राजनीतिक जटिल परिस्थितिमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको समग्र रूपान्तरण र पुनर्गठन पनि आवश्यक छ ।’
कम्युनिष्ट आन्दोलनको पुनर्गठन आफ्नो मुख्य प्राथमिकता रहेको उहाँले बताउनु भयो । देशमा छरिएर रहेका विभिन्न कम्युनिष्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउन आफूले पहल शुरु गरिसकेको जानकारी दिनुभयो । संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने उहाँको तर्क छ । उहाँले आगामी असोजभित्र पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ संरचनामा जाने र वामपन्थी एकतालाई निष्कर्षमा पुर्याउने दाबी समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्