Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


अवैध रूपमा सञ्चालनमा रहेका १० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द


325
Shares

काठमाडाैं । सरकारले अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजार भन्दा बढी एप्लिकेशन र वेबसाइट बन्द गरेको छ ।

अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्ने काम चलिरहेको र अहिलेसम्म १० हजार भन्दा बढी बन्द भइसकेकाे नेपाल दूरसञ्चार प्राधिकरणले जनाएकाे हाे । प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको बताउनुभयाे । मन्त्रिपरिषद्को निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत चैत १५ गते मन्त्रीस्तरबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो ।

निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजी सम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ । सरकारले नेपालभरी सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको हाे ।

साथै कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानूनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।