काठमाडाैं । अत्याधुनिक प्रदर्शनी केन्द्रदेखि ‘उज्यालो पोखरा’ सम्मः पोखरा अब आधुनिक र सुरक्षित शहर
पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँ भन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।
महानगरका प्रमुख धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताउनुभएकाे हाे । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवाँ २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो । यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने प्रमुख आचार्यको भनाइ छ । यसले करिब ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
त्यस्तै, कोइकाको करिब २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण भइरहेकाे उहाँले जानकारी दिनुभएकाे छ। लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ । पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको प्रमुख आचार्यले बताउनुभयो ।
पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ । ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तीब्र गतिमा अघि बढेको छ । विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ ।
जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्ने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्