Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रास्वपा सभापति लामिछानेको आश्वासनमा उम्मेदवारी दियौं : राप्रपा नेता शाही

रास्वपाको धोकाले नयाँ र पुराना दलको साइनबोर्ड मात्रै फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी

325
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको खुलासा गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा उपसभामुखमा पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो खुलाउनुभएको हो । नेता शाहीले उपसभामुखको उम्मेदवारीले संसदमा पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको दावी गर्नुभयो । उहाँले रास्वपाको धोकाले नयाँ र पुराना दलहरुको साइनबोर्ड मात्र फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी गर्नुभएकाे छ ।

उहाँले उपसभामुख पदमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी केवल पदका लागि नभई आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी बन्ने प्रवृत्तिविरुद्धको संघर्ष भएको पनि टिप्पणी पनि गर्नुभयो । रास्वपा सभापति लामिछानेको ग्रीन सिग्नलपछि बिहीबार राप्रपा सांसद सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको थियो ।