काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत फागुन २१ गते सम्पन्न भएकाे निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न भएको बताउनुभएकाे छ ।
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै नवनिर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे हाे । राष्ट्रपति पौडेलले विषम तथा संवेदनशील अवस्थामा सबैले देखाएको सहयोग र संयमताप्रति आभार व्यक्त गर्नुभएकाे छ । उहाँले यस पटकको संसद्मा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको र सरकारले पनि युवा पुस्ताको प्रतिनिधित्वलाई जोड दिने विश्वास आफूलाई रहेको बताउनुभयाे ।
राष्ट्रपति पौडेलले पटक-पटक भएका जनआन्दोलन र भ्रष्टाचार जस्ता चुनौतीहरूको स्मरण गर्दै नागरिक केन्द्रित जनकल्याणकारी कानून निर्माणमा संसद्को भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयाे। उहाँले न्यायपालिकाबाट छिटो छरितो र स्वतन्त्र न्याय सम्पादन भएमा मात्र आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति सच्चा न्याय हुने धारणा व्यक्त समेत व्यक्त गर्नुभएकाे छ।
संविधानको मर्म र भावना जनताको चाहना बमोजिम पूरा गर्न अझै धेरै काम बाँकी रहेको बताउदै राष्ट्रपति पौडेलले आजका युवाको चाहना विगत भन्दा फरक रहेको बताउनुभयाे । युवाहरू नयाँ कुरा सिक्न, रोजगारीका अवसर खोज्न, शैक्षिक गुणस्तर विकास गर्न र विदेशमा पुगेका युवालाई नेपाल फर्काउन चाहेको उहाँको भनाइ छ। सार्वजनिक सेवा प्रवाह चुस्त-दुरुस्त हुनुपर्ने आवश्यकतामा जोड दिँदै राष्ट्रपति पौडेलले सरकारी सेवा प्रवाहको ढिलासुस्ती सरकारले हटाउनेमा आफू विश्वस्त रहेको बताउनुभयाे । छिमेकी मित्रराष्ट्रहरूसँग सुमधुर र पारदर्शी कूटनीतिक सम्बन्ध कायम गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएकाे छ।
राष्ट्रपति पौडेलले हामी फुटेर होइन जुटेर, विगतका कटुता बिर्सेर एक भएर अगाडि बढ्न आवश्यक रहेको भन्दै सुशासन, समृद्धि र विकासको यात्रा शुरु गर्नुपर्नेमा जाेड दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्