Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


हप्तामा दुई दिन बिदा दिने निर्णयले १० प्रतिशत इन्धन खपत कम हुने निगमको अनुमान

सरकारको निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्नेमा जोड

299
Shares

काठमाडौं । हप्तामा दुई दिन बिदा हुँदा करिब १० प्रतिशत इन्धन खपत कम हुने अनुमान गरिएको छ ।

नेपाल आयल निगमले देशभरी दैनिक २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको जनाएको हो । हप्तामा एक दिन बिदा थपिंदा पेट्रोल र डिजेलको कूल उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने अनुमान छ । तर निगमका प्रवक्ता मनोज ठाकुरले हप्तामा एक दिन बिदा थप्ने निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न करिब एक हप्ता कुर्नुपर्ने बताउनुभयो।

उहाँले बजारको माग बुझ्न केही समय लाग्ने बताउनुभएको छ । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । बिदा पाइयो भनेर घुम्न नजान समेत उहाँको आग्रह छ । आइतबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको थियो । यसअघि पनि यस्तै निर्णय भएको थियो । २०७९ सालमा तत्कालीन सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि अव्यावहारिक भएको भन्दै विरोध भएपछि एक महिनामै थप बिदा दिने निर्णय खारेज भएको थियो ।

त्यस्तै, २०५६ देखि पनि हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास शुरु भएको थियो । तर त्यो निर्णय दुई वर्ष मात्र लागू भएको थियो ।