Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


देशैभरी यस वर्षको एसईई परीक्षा जारी

परीक्षामा ५ लाख १२ हजार बढी परीक्षार्थी सहभागी

117
Shares

काठमाडाैं । देशैभरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अहिले जारी रहेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले हाल परीक्षा जारी रहेकाे जनाएकाे हाे । पहिलाे दिन बिहीबार अनिवार्य अंग्रेजी विषयकाे परीक्षा हुने भएकाे छ । बोर्डका अनुसार यसवर्ष  चैत २९ गतेसम्म संचालन हुने परीक्षामा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एक गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् ।

सबै भन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबै भन्दा कम मनाङमा रहेकाे बार्डले जनाएकाे हाे। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञवलीले काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिने बताउनुभयाे। सबै भन्दा कम मनाङमा भने एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उहाँको भनाइ थियाे ।

उप–नियन्त्रक ज्ञवालीकाअनुसार बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ । त्स्तै, विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई उनीहरुको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने ज्ञवालीले स्पष्ट पार्नुभयो । परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ ।

सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकाले सोहीअनुसार तयारी गरिएको उपनियन्त्रक ज्ञवालीले बताउनुभयाे । उहाँका अनुसार परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यलय पठाउने समेत उहाँले जानकारी दिनुभयाे ।

परीक्षा नियन्त्रण कार्यलयले परीक्षा अवधिमा कुनै समस्या आए तुरुन्त निरीक्षकलाई जानकारी गराउन परीक्षार्थीहरुलाई अनुरोध समेत गरेको छ ।