एजेन्सी । इरानसँगको युद्धका कारण विश्वभरी इन्धनको मूल्य बढेकाे समयमा अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ ।
साेही मूल्य सन् २०२२ अर्थात ४ वर्षयताकै उच्च हो । अहिले साधारण पेट्रोलको औसत मूल्य ४ दशमलव ०२ डलर पुगेको छ। जुन युद्ध शुरु हुनु अघिको भन्दा एक डलर भन्दा बढीको वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि मूल्य उच्च भएको थियो । अमेरिकाका विभिन्न राज्यमा मूल्य फरक–फरक रहेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि इन्धनको मूल्यमा असर परेको हो । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तामा रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको हाे । साथै डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ । जसले सामान ढुवानी गर्ने गाडीलाई थप भार परेको छ । विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट गहिरिएको हाे । मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ ।
यसैबीच इन्धन अभावले चरम संकट भोगिरहेको क्युवामा रुसी तेलको ट्यांकर पुगेको छ । मंगलबार ७ लाख ३० हजार ब्यारेल कच्चा तेल बोकेको अनातोली कोलोडकिन जहाज हभानाको पूर्वमा रहेको माटान्जास बन्दरगाहमा रोकिएको समाचारमा उल्लेख गरिएकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामा तेल पठाउने देशमाथि भन्सार शुल्क बढाउने चेतावनी दिनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्