काठमाडाैं । मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको जन्मोत्सवमा शुक्रबार देशभरी राम नवमी पर्व श्रद्धा, भक्ति र उल्लासपूर्ण रूपमा मनाइँदैछ ।
चैत्र शुक्ल नवमी तिथिमा त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्याको पुत्रका रूपमा भगवान रामको जन्म भएको विश्वास गरिन्छ । यो पर्वले असत्यमाथि सत्यको विजय, धर्मको रक्षा र आदर्श जीवनको सन्देश दिन्छ । घरघरमा तथा राम मन्दिरहरूमा भगवान राम, सीता, लक्ष्मण, भरत, शत्रुघ्न र हनुमानको पूजा गरिन्छ । रामायण पाठ, रामगीता वाचन, भजनकीर्तन र रामनाम जप गर्ने परम्परा छ । अधिकांश भक्तजनले व्रत बसी नदी, ताल तथा कुण्डमा स्नान गरी पूजा गर्दछन् ।
नेपालको मुख्य केन्द्र जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । नेपाल र भारतबाट हजारौं भक्तजन रामसीताको दर्शन गर्न आइपुगेका हुन् । मन्दिर परिसरमा झाँकी, साँस्कृतिक कार्यक्रम र भजनकीर्तन भइरहेका छन् । बत्तिसपुतलीस्थित राम मन्दिर र पशुपतिको राम मन्दिर लगायत विभिन्न राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
साेही पर्व चैत्र नवरात्रिको अन्तिम दिनसँग जोडिएको हाे । नवदुर्गाको पूजा पनि यस दिन विशेष रूपमा गरिन्छ ।








प्रतिक्रिया दिनुहोस्