Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


महिला अधिकारकर्मीले नयाँ सरकारले महिला, बालबालिका मन्त्रालय हटाउन लागेको भन्दै गरे विरोध प्रदर्शन


702
Shares

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।

महिला तथा मानव अधिकारकर्मीहरुले बिहीबार माईतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । मन्त्रालयको संख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा गाभ्ने तयारी गरेपछि महिला अधिकारकर्मीहरुले विरोध जनाएका हुन् ।

रास्वपाले यी दुई मन्त्रालय गाभेर स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय बनाउने तयारी गरेको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निर्णय भइसकेपछि निर्णय बदल्न गाह्रो हुने भएकोले निर्णय अगाबै खबरदारी गरेको बताउनुभयो । राज्यको खर्च कटौती गर्ने नाममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित गर्ने आफूले जानकारी पाएको उहाँले बताउनुभयो ।

जनसंख्याको ५१ प्रतिशत महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको सवाललाई महिला मन्त्रालयले सम्बोधन गरिरहेको उहाँको भनाई छ । उहाँले १८–४९ वर्षका सवालङ्ग बाहेक अन्य नागरिकको संरक्षण गर्ने मन्त्रालयलाई कटौती गर्नु आपत्तिजनक भएको बताउनुभयो । पछिल्लो समय जिल्लास्थित महिला विकास कार्यलय खारेज गरिँदा समस्या उत्पन्न भएको उहाँले बताउनुभएकाे छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले पटकपटक महिला मन्त्रालयमाथि टार्गेट गर्ने गरिएको बताउनुभयो । संविधान बनेपछि राज्य पुनःसंरचना गर्ने बेलामा पनि यो मन्त्रालयलाई गाभ्न खोजेको उल्लेख गर्दै उहाँले महिलाअधिकारकर्मीहरुको विरोधका कारण कायम गरिएको बताउनुभएकाे छ । उहाँले राज्यले महिला मन्त्रालयलाई कहिल्यै प्राथमिकतामा नराखेको बताउनुभयो । उहाँले पहिला महिला मन्त्रालय खारेज गर्ने र त्यसपछि महिला आयोग पनि खारेज गर्ने तयारी गरेकोले चनाखो हुन आग्रह गर्नुभएकाे छ । उहाँले महिलाहरुको आन्दोलनमा मानवअधिकार आयोगको सहयोग रहने बताउनुभयो ।

महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले महिला मन्त्रालय हटाउन लागिएको निर्णय लोकतन्त्रमाथीको प्रहार भएको बताउनुभयो । लोकतन्त्र र महिलाअधिकारमाथी हुने प्रहार स्वीकार्य नहुने उहाँको भनाई छ । महिला मन्त्रालयलाई स्रोत र साधनले बलियो बनाउनुपर्नेमा हटाउन खोज्नु दुभाग्य भएको उहाँले बताउनुभयो ।

प्रदर्शनकारीहरुले महिला मन्त्रालय खारेज गर्न पाइँदैन, ५१ दशमलव ५ प्रतिशत पहिचान, हाम्रो मन्त्रालय हाम्रो शान, महिला आन्दोलनको उपलब्धिलाई कुठाराघात गर्न पाइँदैन, सडकमा छौँ अधिकारका लागि, चुप बस्दैनौ पहिचालनको लागि, ५१ प्रतिशत महिलाको अधिकारमा सम्झौता हुन सक्दैन लगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।