Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


चैते दशैंको अवसरमा देशैभरीका शक्तिपीठमा भक्तजनको घुइँचो


182
Shares

काठमाडाैं । चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैं पर्वकाेअवसरमा बिहीबार काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।

विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती र गुह्येश्वरी मन्दिरहरूमा पूजा आजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको हाे । चैते दशैंका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, वागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको हाे ।

वर्षमा दुई पटक मनाइने दशैंमध्ये चैत्रमा मनाइने यो दशैंलाई ‘सानो दशैं’ का रूपमा पनि लिइन्छ । असोजको बडादशैं जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैंको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।