एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता सकारात्मक भएकाे बताएसँगै कच्चा तेलको मूल्य केही घटेको छ ।
यस अघि गत आइतबार साेही तेलकाे मूल्य बढेर १ सय १३ डलर प्रतिब्यारेलसम्म पुगेको थियाे । तर कच्चा तेलको मूल्य साेमबार राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता सकारात्मक भएकाे बताएसँगै घटेर ९६ डलर प्रतिब्यारेलमा झरेको बीबीसीले जनाएको हाे ।
वार्ता रचनात्मक भइरहेको राष्ट्रपति ट्रम्पको प्रतिक्रियापछि ९६ डलर प्रतिब्यारेलको न्यूनतम स्तरमा झरेर त्यसपछि केही मात्रमा बढेको छ । त्यस्तै, अमेरिका र युरोपमा शेयर बजारमा सुधार आएको खबरमा उल्लेख छ । पश्चिम एशियामा द्वन्द्वलाई पूर्ण समाधान निकाल्नेगरी अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा निकै राम्रो र फलदायी वार्ता भइरहेको राष्ट्रपति ट्रम्पले साेमबार सामाजिक सञ्जाल ट्रुथमार्फत उल्लेख गर्नुभएको हाे ।
साथै उहाँले ५ दिनसम्म इरानका ऊर्जा पूर्वाधारमा कुनै आक्रमण नगर्न अमेरिकी सेनालाई निर्देशन पनि दिनुभएको छ । तर इरानी पक्षले भने अमेरिकासँग अहिलेसम्म कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको जनाएको छ । अमेरिका र इजरायलले पछिल्लो आक्रमण शुरु गरे यता इरानले होर्मुज मार्ग अवरुद्ध गरेको हाे । विश्वव्यापी तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ढुवानी हुने होर्मुज मार्गमा अवरोधसँगै सीमित पानीजहाजलाई मात्र अनुमति दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्