Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातका कारण पराजय भोगेको कांग्रेसकाे निष्कर्ष

संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएकाे ठहर

1.3k
Shares

काठमाडाैं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा करिब २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ ।

कांग्रेसको सानेपामा जारी केन्द्रीय कार्यमितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजार भन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिनुभयो । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उहाँले बताउनुभएकाे छ। ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उहाँले बताउनुभयो । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उहाँले जानकारी दिनुभएकाे छ । केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको देखिएको उहाँले बताउनुभयाे ।

प्रवक्ता चालिसेले ८ लाख ५० हजार भन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको बताउनुभयो । उहाँले पार्टीको सदस्यता विस्तार हुँदै जाने तर मत भने घट्दै जानु चिन्ताजनक भएको बताउनुभएकाे छ। उहाँले कांग्रेसको ९ औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहेकाे बताउनुभएकाे हाे । १४ औँ महाधिवेशनसम्म आइपुग्दा त्यो संख्या बढेर ८ लाख ७० हजार पुगेको छ । उहाँले तर मत भने काँग्रेसले १७ लाख ५९ हजार ल्याएको छ । उहाँले कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आगामी दिनमा मतदाताको विश्वास पुनःआर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा गरिरहेको जानकारी दिनुभयो ।

प्रवक्ता चालिसेले जारी केन्द्रिय समितिको बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भईरहेको बताउनुभयाे ।बैठकले काँग्रेसलाई फेरि सशक्त बनाएर जनतामाझ लैजानेगरी कार्यदिशा तय गर्ने उहाँको भनाइ छ ।