Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


जापानमा प्रधानमन्त्री टाकाइचीकाे नीतिविरूद्ध हजाराैं जनता प्रदर्शनमा उत्रिए


4.6k
Shares

एजेन्सी । जापानी प्रधानमन्त्री साने टाकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजार भन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका क्षेप्यास्त्र परिचालन गर्ने सरकारको योजनाको कडा विरोध गरेका हुन् । प्रतिनिधि सभाको सेकेन्ड मेम्बर्स अफिस बिल्डिङ बाहिर भेला भएका प्रदर्शनकारीहरूले युद्ध नगरौँ र संविधान संशोधनको विरोध गरौँ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले जापानको शान्तिवादी संविधानको रक्षा गर्न र शान्ति कायम राख्न माग गरेका छन् ।

सन् १९४७ देखि लागू भएको जापानको संविधानलाई शान्तिवादी संविधानका रूपमा चिनिन्छ । यसको धारा ९ मा जापानी जनताले राष्ट्रको सार्वभौम अधिकारका रूपमा युद्ध र अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउन बल प्रयोग वा धम्की दिने कार्यलाई सदाका लागि त्याग गरेको उल्लेख छ । प्रधानमन्त्री टाकाइची र अन्य दक्षिणपन्थी राजनीतिज्ञहरूले लामो समयदेखि धारा ९ लाई संशोधन गर्ने प्रयास गर्दै आएका छन् ।

संविधान संशोधनप्रतिको आफ्नो प्रतिवद्धतालाई प्रधानमन्त्रीले हालै पुनः दोहोर्‍याएपछि जापानभर यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।