गीताञ्जली अधिकारी-संवाददाता
चितवन । पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको चितवनको सूर्यमुखी फूलबारी भारी वर्षाका कारण क्षतिग्रस्त भएको छ । गत फागुन २८ गते भएको भारी वर्षाका कारण फूलबारीका अधिकांश सूर्यमुखीका बोटहरु ढलेका हुन । आन्तरिक पर्यटकको आकर्षण बनेको फूलबारीमा फूलका बोट नै ढलेपछि त्यहाँ पुग्ने पर्यटकहरु निराश हुने गरेका छन् ।
स्थानीय स्तरमा पर्यटन आकर्षणको रूपमा विकास गर्ने उद्देश्यले साढे २ विगाह क्षेत्रफलमा लगाइएको सूर्यमुखी फूलबारी केही समय अघिदेखि सामाजिक सञ्जालमा निकै चर्चामा आएको थियो । रंगीन सूर्यमुखीका फूलहरू फुलेपछि दैनिक रूपमा धेरै आन्तरिक पर्यटक फूलबारी अवलोकन गर्न तथा तस्बिर खिच्न पुग्ने गरेका थिए ।
विशेषगरी युवायुवती र परिवारसहित घुम्न आउने आगन्तुकहरूको संख्या बढ्दै गएको थियो । अहिले फूल ढलेपछि फूलबारीको आकर्षण घटेको भन्दै यहाँ पुगेका धेरै पर्यटकले गुनासो गरेका छन् । केही पर्यटकले सामाजिक सञ्जालमार्फत पनि आफ्नो असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । उनीहरू फूलबारीको वास्तविक अवस्था सामाजिक सञ्जालमा देखाए जस्तो नरहेको भन्दै व्यवस्थापन पक्षले जानकारी दिनुपर्ने बताएका छन् ।
फूलबारी सञ्चालकका अनुसार उक्त सूर्यमुखी खेती गर्न हालसम्म करिब आठ लाख रुपैयाँ खर्च भइसकेको हाे । बीउ, मल, सिँचाइ, संरचना निर्माण तथा अन्य व्यवस्थापनमा ठूलो लगानी गरिएको भए पनि अचानक परेको वर्षाले अधिकांश फूल ढल्दा ठूलो आर्थिक क्षति पुगेको सञ्चालकको गुनासो छ । ढल्न बाँकी रहेका बोटहरूको संरक्षण गर्दै केही दिनभित्रै फूलबारीलाई पुनः आकर्षक बनाउने योजना रहेको जिल्ला प्रांगारिक संघका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले बताउनुभयाे ।
सूर्यमुखी फूलबारी चितवनमा नयाँ प्रकारको कृषि पर्यटनको रूपमा विकास हुँदै गएको छ । जसले स्थानीय कृषि उत्पादनसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको बेला मौसम परिवर्तनका कारण फूलबारीमा क्षति पुगेको हो ।
विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्:








प्रतिक्रिया दिनुहोस्