Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेस बैठकाे निर्णय


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेकाे छ।

सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो । उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले गत फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनकाे बारेमा पनि छलफल गरेको छ। बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको जानकारी सह-महामन्त्री बहादुरसिंह लामाले दिनुभएकाे हाे।

थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको थियो। बैठकको नेतृत्व उपसभापति विश्वप्रकाश शर्माले गर्नुभएकाे थियाे । प्रतिनिधिसभा निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्ने उद्देश्यले बोलाइएको बैठकमा दुई वटा प्रस्ताव पेश गरिएको थियो । बैठकमा थापाको राजीनामाकाे बारेमा छलफल गरेर प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा पनि भएको छ।

बैठकमा पेश गरिएका प्रस्तावहरूमा पहिलो, सभापति गगनकुमार थापाले दिएको राजीनामा सम्बन्धी विषय र दोस्रो, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक समीक्षा समेटिएको थियो ।