काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर एवं एक पटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताउनुभएको छ।
महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले सन १९८४ को भारतीय लोकसभा निर्वाचनमा कांग्रेस आईले ल्याएको दुई तिहाइ मतको उदाहरण दिँदै त्यति बेला भारतीय जनता पार्टीले जम्मा दुई सिट प्राप्त गरेको उदाहरण समेत दिनुभएकाे छ। ‘सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको बालेन लहर” जस्तै राजीव लहर देखिएको उहाँकाे भनाइ थियाे ।
साेही समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइ भन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको समेत बताउनुभएकाे छ। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको पनि स्मरण गर्नुभएकाे छ। तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकी भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो। यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको महासचिव पोखरेलकाे तर्क थियाे ।
उहाँले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने उहाँकाे दावी छ। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार भएकाे उहाँकाे तर्क थियाे । जित्ने र हार्ने दुवैका लागि यी शिक्षाका विषय भएकाे समेत उहाँले बताउनुभयाे ।
यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिने उहाँको भनाइ छ। गत फागुनमा २१ गते सम्पन्न भएको निर्वाचनमा एमालेले अनपेक्षित पराजय व्यहोरेपछि पार्टी पुनर्गठनको आवाज उठिराखेको छ। मातहतका केही कमिटीहरूले स्वःस्फूर्त समीक्षा गर्न थालेका छन्।
महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ:









प्रतिक्रिया दिनुहोस्