Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


अमेरिकामा भण्डारण बढेसँगै विश्व बजारमा आज तेलको मूल्य घट्यो

भूराजनीतिक तनावले आगामी दिनमा तेलकाे मूल्यमा उतारचढाव ल्याउन सक्ने विश्लेषककाे अनुमान

1.9k
Shares

एजेन्सी । विश्व बजारमा तेलको मूल्य बुधबार केही मात्रमा घटेको छ ।

अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्यांक अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको हाे। अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रतिब्यारेल १ दशमलव १५ डलरले घटेर १ सय २ दशमलव २७ डलरमा झरेको छ। अमेरिकी मापदण्डको तेलको मूल्य १ दशमलव ५४ डलरले घटेर ९४ दशमलव ६७ डलरप्रति ब्यारेलमा झरेको हाे ।

अमेरिकामा यहि मार्च १३ तारिखमा कच्चा तेलको भण्डारण ६ दशमलव ५६ मिलियन ब्यारेलले बढेको थियो । यसअघि करिब ३ सय ८० हजार ब्यारेल मात्र वृद्धि हुने अनुमान गरिएको थियो । अपेक्षा भन्दा बढी भण्डारण बढेपछि तेलको मूल्यमा गिरावट आएको रोयर्टसले उल्लेख गरेको छ । इराकले टर्कीएको सिहान बन्दरगाहमार्फत् तेल निर्यात पुनः शुरू गर्ने सहमति गरेको छ । त्यस्तै, लिबियाको राष्ट्रिय आयल कर्पोरेशनले आगलागीका बाबजुद पनि उत्पादन निरन्तर रहेको जनाएको हाे।

विश्लेषकहरूले भने आपूर्ति बढ्नु र भण्डारण उच्च हुनुका कारण अहिले तेलको मूल्य केही घटेको भए पनि भूराजनीतिक तनावले आगामी दिनमा मूल्यमा उतारचढाव ल्याउन सक्ने सम्भावना रहेकाे बताएका छन्।