काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल खेल शुरु हुँदैछ ।
एन्फाले लिगको पूर्वसन्ध्यामा मंगलबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । लिगको उद्घाटन खेलमा बुधबार न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ । त्यस्तै, बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीकाे सामना गर्ने भएकाे हाे । आगामी वैशाख १२ गतेसम्म ललितपुरको च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।
प्रतियोगितामा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड फुटबल क्लब र संकटा क्लब र त्रिभुवन आर्मी क्लब गरी कूल ९ टोली सहभागी हुने भएका छन् । पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रतिनिधिहरूले प्रतियोगिताका लागि आफूहरू तयार रहेको, उच्च लक्ष्यका साथ मैदान उत्रने र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका हुन्।
उनीहरूले लिगलाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।








प्रतिक्रिया दिनुहोस्