Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने आईईएकाे घोषणा

इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्यमा तीव्र रुपमा वृद्धि

2k
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मध्यपूर्वमा जारी तनावका कारण तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट इतिहासकै ठूलाे मात्रामा तेल बजारमा ल्याउने घाेषणा गरेकाे छ।

आईईएले ४० कराेड ब्यारेल तेल बजारमा ल्याउने घाेषणा गरेकाे बीबीसीले जनाएकाे हाे । याे करिब ४ दिनकाे विश्व माग बराबर हाे । आफ्ना ३२ सदस्य देशले यस कदमकाे पक्षमा सर्वसम्मतिले मतदान गरेकाे एजेन्सीले जानएकाे छ। आईईएले आपत्कालीन भण्डारबाट तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थिति अनुरूप उपयुक्त समयमा बजारमा उपलब्ध गराइने बताएको हाे । एजेन्सीले यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा दुई पटक गरी रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने निर्णयलाई अनुमाेदन गरेकाे थियाे ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य देशहरूसँग १ खर्ब २० कराेड ब्यारेल भन्दा बढीकाे आपत्कालीन तेल भण्डार रहेकाे समेत जनाएकाे छ। यसबाहेक उद्योगसँग सरकारी दायित्व अन्तर्गत ६० करोड ब्यारेलको अतिरिक्त भण्डार रहेकाे छ। अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएका कारण मूल्यमा तीव्र वृद्धि भएको हाे ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबै भन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । दैनिक रुपमा करिब २ करोड ब्यारेल तेल यहि क्षेत्र हुँदै आपूर्ति हुने आईईएले जनाएकाे हाे । साेही क्षेत्र पर्सियन खाडी र ओमान खाडीकोबीचमा भागमा रहेकाे छ।