Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


झापामा १८ हजार भन्दा बढी मत बदर


728
Shares

झापा । यहि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापामा ६४ दशमलव ११ प्रतिशत मतदान भएको छ ।

कूल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ लाख ५७ हजार ४ सय ३५ जनाले मतदान गरेका थिए । तीमध्ये १८ हजार ६ सय १३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालका अनुसार पाँच वटै निर्वाचन क्षेत्रमा बदर मतको संख्या उल्लेख्य देखिएको छ । विशेषगरी झापा -३ मा सबै भन्दा बढी ५ हजार ६ सय २९ मत बदर भएको छ । त्यसैगरी झापा- १ मा ४ हजार २ सय ९६, झापा- २ मा ४ हजार ४ सय ६९, झापा ४ मा ४ हजार ७ सय ६८ र झापा- ५ मा ४ हजार २ सय १९ मत बदर भएको कार्यालयले जनाएको छ । बदर मतको यो संख्या हेर्दा मतदातामा मतपत्र प्रयोग सम्बन्धी अन्योल अझै कायम रहेको देखिएको हो ।

मतदानको अवस्थालाई हेर्दा झापा क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार ६७ मतदातामध्ये ८२ हजार ५ सय ६० मत खसेको थियो । तीमध्ये ७८ हजार २ सय ९१ मत सदर भएको छ । झापा -२ मा १ लाख ४७ हजार ५ सय २२ मतदातामध्ये ९५ हजार ७ सय ९२ जनाले मतदान गरे पनि ९१ हजार ३ सय २३ मत मात्र सदर भएको थियो । त्यस्तै, झापा -३ मा १ लाख ४० हजार ८ सय ५७ मतदाता रहेकोमा ८८ हजार १ सय ३५ मत खसेको थियो । त्यसमध्ये ८२ हजार ५ सय ६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

झापा -४ मा १ लाख ३० हजार ७१२ मतदातामध्ये ८१ हजार ८ सय २२ जनाले मतदान गरेका थिए। तीमध्ये ७७ हजार ५७ मत सदर भएको छ । यता झापा-५ मा भने सबै भन्दा बढी मतदाताले मतदानमा सहभागिता जनाएका छन् । १ लाख ६३ हजार ३७९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार ३ सय ३८ मत सदर भएको छ । झापा-५ लाई देशकै सबैभन्दा बढी राजनीतिक चासोको क्षेत्रका रूपमा पनि हेरिएको थियो । निर्वाचनमा झापाबाट प्रतिनिधिसभा सदस्य पदका लागि ९० जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये सात जनाले मात्र जमानत जोगाएका छन् । ७८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हाे ।

जिल्लामा बदर मतको संख्या उच्च देखिनु र ठूलो संख्यामा उम्मेदवार मैदानमा उत्रिनु तथा धेरै उम्मेदवारले जमानत जोगाउन नसकेको देखिएको छ । यो निर्वाचनमा पुराना दललाई पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ वटै निर्वाचन क्षेत्रमा हासिल गरेकाे हाे ।