Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने महासचिव पोखरेलकाे दावी

निर्वाचनपछि सही बाटो समात्ने र भविष्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्ने तर्क

260
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने दावी गर्नुभएको छ ।

बिहीबार आफ्नो मतदान अधिकार प्रयोग गरेपछि संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले यस्ताे दावी गर्नुभएकाे हाे ।मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले यस निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण घटनाका रूपमा लिनुपर्ने बताउनुभएकाे छ। नेपालको राजनीतिक अस्थिरता नै विकास र समृद्धिको मुख्य बाधक रहेको बताउँदै उहाँले समाजमा देखा परिरहेको ‘पपुलिज्म’ (लोकरिझ्याइँ) र ‘एनार्किजम’ (अराजकता) राजनीतिक स्थायित्वका लागि ठूलो चुनौती रहेको बताउनुभयाे । यसै निर्वाचनबाट सबै समस्याको समाधान नभए पनि यसले सही बाटो समात्ने र भविष्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्ने उहाँको भनाइ छ ।

निर्वाचन परिणामकाे बारेमा उहाँले विचारधाराको जगमा उभिएका नेपालका प्रमुख राजनीतिक दलहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने जिकिर गर्नुभयो । मुलुकलाई अराजकता र विध्वंशतर्फ लैजाने कुरा राष्ट्रको दीर्घकालीन हितमा नहुने कुरा नेपाली जनताले महशुस गरिसकेको उहाँले बताउनुभएकाे छ । दक्षिण एशियाली मुलुकहरू श्रीलंका र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामको उदाहरण दिँदै महासचिव पोखरेलले ती देशका जनताले जस्तै नेपाली जनताले पनि विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले श्रीलंका र बंगलादेशका जनताले जुन प्रकारको सचेतता देखाएका त्यो भन्दा कम सचेत नेपाली जनता नरहेको स्पष्ट पार्नुभएकाे छ ।