Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


चितुवाको आक्रमणबाट बर्दियामा ७ वर्षीय बालकको मृत्यु, तीन जना घाइते


533
Shares

शोभा कोइराला,बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा राजापुर नगरपालिका–१० काला बन्जारका ७ वर्षीय आदित्य चौधरी रहेका छन्। घर नजिकै खेलिरहेका बेला अचानक आएको चितुवाले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सोही घटनामा चितुवाको आक्रमणबाट अन्य तीन जना पनि घाइते भएका छन्। घाइते हुनेमा काला बन्जारकै अन्दाजी ४० वर्षीय कृतिमान थारु, ४१ वर्षीय धनीराम थारु र ३८ वर्षीय श्यामलाल थारु रहेका छन्। उनीहरू बालकलाई बचाउने क्रममा चितुवाको आक्रमणमा परेका थिए।

घाइतेहरूको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको जनाइएको छ। स्थानीयका अनुसार चितुवा नजिकैको जंगल क्षेत्रबाट बस्तीमा पसेर अचानक आक्रमण गरेको हो।

घटना दिउँसोको समयमा भएकोले स्थानीयहरू थप त्रसित बनेका छन्। पछिल्लो समय बर्दिया क्षेत्रमा बन्यजन्तु–मानव द्वन्द्व बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायलाई आवश्यक नियन्त्रण र सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन्।