Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


अमेरिकामा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त, ९८ प्रतिशत हवाई उडान रद्द

६ लाख घरमा विद्युत आपूर्ति बन्द, सवारीसाधन चलाउन पनि पूर्णरूपमा रोक

1k
Shares

एजेन्सी । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

हिमपातसँगै उत्पन्न प्रतिकूल मौसमका कारण अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सय भन्दा बढी उडान रद्द भएका हुन्।राष्ट्रिय मौसम सेवाले रोड आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको जनाएकाे छ। यो रोड आइल्यान्डको इतिहासकै सबै भन्दा ठूलो हिमपात हो । यो हिमपातले सन् १९७८ को रेकर्ड समेत तोडेको छ। न्युयोर्कको सेन्ट्रल पार्कमा १९ इन्च भन्दा बढी हिउँ परेपछि न्युयोर्क राज्यले यात्रा गर्न असम्भव भएको भन्दै चेतावनी दिएको हाे।

भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहितका पूर्वी तटीय राज्यहरूमा ६ लाख भन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सका गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाउँदै सुरक्षित रहन आग्रह गर्नुभयाे। न्युयोर्कको ला गार्डिया विमानस्थलबाट हुने ९८ प्रतिशत र जेएफकेबाट हुने ९१ प्रतिशत हवाई उडानहरू रद्द गरिएका छन्। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन पूर्ण रोक लगाइएको भए पनि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको हाे।

उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। हिमपात मंगलबारसम्म जारी रहने र केही तटीय क्षेत्रमा थप १ देखि २ फिटसम्म हिउँ जम्न सक्ने मौसमविद्को पूर्वानुमान रहेकाे हाे ।