Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


प्रतिनिधिसभा निर्वाचन आउन अब ९ दिन मात्रै बाँकी

चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आयोगको आग्रह

195
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ९ दिन मत्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले साेही चुनावमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको हाे । आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै दल तथा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्‍याली वा यस्तै अन्य गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ।

दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानका क्रममा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो प्राप्त भएको भन्दै त्यस्ता काम नगर्न आयोगले आह्वान गरेको हो ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को उपदफा (१०) को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको आयाेगले स्मरण गराएको हाे ।