Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


वीरगञ्जमा तनाव साम्य पार्न तीन बुँदे निर्णय, कर्फ्यु आदेश हटाउने सहमति


871
Shares

वीरगञ्ज ।

वीरगञ्जमा दुई फरक धर्म समुदायबीचको विवादलाई लिएर आइतबारदेखि उत्पन्न तनाव साम्य पार्न तीन बुँदे निर्णय गरिएको छ।

तीन बुँदे सहमति संगै सहमति संगै सोमबार बिहान देखि लगाइएको अनिश्चिकालिन कफ्र्यु आदेश हटाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा तथा हिन्दु–मुस्लिम समुदायका प्रतिनिधिको सहभागितामा बैठक बसेको थियो।

वीरगञ्ज–११ श्रीपुरमा आइतबार बेलुकी भएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने, पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशीघ्र अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । दोषीलाई कानुनी कारबाही गर्न धार्मिक अगुवाले समेत सहजीकरण गर्ने सहमति भएको प्रजिअ दाहालले बताउनुभयो।

बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भड्काउने सामग्री भाइरल बनाउने तथा हेट स्पीच प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुनअनुसार तत्काल कारबाही गर्ने निर्णय पनि भएको छ।

साथै, आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा सामाजिक अगुवा र जनप्रतिनिधिले आ–आफ्नो निकायबाट शान्ति र सहिष्णुताको सन्देशसहित विज्ञप्ति जारी गर्ने निर्णयसमेत गरिएको छ।